झिलझिले ,१८ पुस । झापाको शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित धार्मिकस्थल सताक्षीधामको दान पेटिका चोरी भएको छ ।आइतबार राति धाम परिषर भित्र रहेको दान पेटिका चोरी भएको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष तुला बोखिमले जानकारी दिए। सताक्षीधामसंगै गोलोक गोवर्धन गौशालाका पनि दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ ।
गौशालाका तीनवटा दान पेटिका फुटाएर भेटी चोरी भएको हो भने सताक्षीधामको दान पेटिका नै चोरी भएको अध्यक्ष बोखिमले बताए ।उनका अनुसार दानपेटिकालाई फलामे साङ्लामा गर्भे ताला लगाइएको थियो भने चोरले फुटाउन नसकेपछि धामको दान पेटिका नै चोरी भएको हो । दान पेटिकामा कति रुपैयाँ थियो भन्ने यकिन छैन् । दानपेटिकामा धाममा आउने तिर्थालुहरुले स्वेच्छिक दान गरिआउने गर्छन् ।
अध्यक्ष बोखिमले गौशालाका दान पेटिका बालाचतुर्दशी मेलाको भोलिपल्ट खोलिएको थियो । त्यसपछि खोलिएका थिएनन् । त्यससंगै गौशालाको सन्त निवासको भने दान पेटिका सुरक्षित छ ।
यसअघि पनि सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दान पेटिका गएको भदौमा पनि चोरी भएको थियो । त्यस बेला पनि घटनामा संलग्नको पहिचान हन सकेको थिएन । धाम समितिले चोरीमा संलग्नको खोजतलासका लागि प्रहरीमा उजुरी गरिसकेको जनाएका छन् ।