झापा,१७ पुस । इलाम र सुनसरी गरी दुई अलग–अलग ठाउँमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–१ साखेँजुङमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाईते भएकी हिमाल दाहालको छोरी २६ महिनाकी बालिका हिमान्सी दाहालको मृत्यु भएको हो ।
त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–२ आठअर्डीमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका २८ बर्षीय नरबहादुर मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।