झापा,१८ साउन । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२-०८३ मा चियाको निर्यात परिमाण र त्यसबाट भएको आम्दानी दुवै घटेका छन्।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२-०८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो। अघिल्लो आव २०८१-०८२ मा भने चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो।
यससँगै चिया निर्यातबाट हुने आम्दानी ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँले घटेको छ ।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो स्थानमा पर्छ।
उनले नेपाली चियाको मुख्य बजार भारत भएकाले भारतीय बजारमा हुने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा आउने परिवर्तनका कारण चिया निर्यात प्रभावित भएको बताए ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा निर्यात हुँदै आएको छ। चिया निर्यातमा आएको गिरावटले चिया उत्पादक किसान, उद्योगी तथा समग्र वैदेशिक व्यापारमा समेत असर पर्ने देखिएको छ ।