दार्चुला पुल निर्माण अभियानको आयव्यय सार्वजनिक

धरान, २९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)को नेतृत्वमा सञ्चालन भएको दार्चुलाको दुम्लिङ झोलुङ्गे पुल निर्माण अभियानको आयव्यय विवरण सार्वजनिक भएको छ ।
आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा पुल निर्माण समितिकी कोषाध्यक्ष समिता राईले दार्चुला पुल निर्माणका लागि बैँकको क्युआरमार्फत २ करोड ७१ हजार ५ सय ६ रुपियाँ र नगद ४९ लाख ६५ हजार ५९५ रुपियाँ सङ्कलन भएको जानकारी दिईन् । बैँक र नगद गरी कुल २ करोड ५० लाख ३७ हजार १०१ रुपियाँ आम्दानी भएको र

त्यसमध्ये दुम्लिङ झोलुङ्गे पुल निर्माणका क्रममा १ करोड २९ लाख २९ हजार १७४ रुपियाँ खर्च भएको उनले बताईन् ।
विवरण अनुसार खर्चमध्ये झोलुङ्गे पुल निर्माण सामग्री खरिद, सर्वेक्षण, मेसिन खरिद तथा कार्यालयसम्बन्धी कागजात व्यवस्थापनमा ५५ लाख १३ हजार ५२३ रुपियाँ खर्च गरिएको छ। पुल निर्माण सामग्री खरिदमा मात्रै ४५ लाख २७ हजार ९३४ रुपियाँ खर्च भएको कोषाध्यक्ष राईले जानकारी दिईन्।
त्यसैगरी प्रशासनिक शीर्षक अन्तर्गत यातायात, खाना, क्याम्प व्यवस्थापन तथा ढुवानी एवं विविध खर्चमा ७४ लाख १५ हजार ६५१ रुपियाँ खर्च भएको छ । जसमध्ये यातायातमा २८ लाख ४८ हजार ३८३ रुपियाँ, खानामा १६ लाख ४० हजार ६४२ रुपियाँ, क्याम्प व्यवस्थापनमा ५ लाख ९१ हजार ५९५ रुपियाँ तथा ढुवानी र विविध खर्चमा १२ लाख ४७ हजार ४०० रुपियाँ खर्च भएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरण अनुसार हाल बैँक खातामा १ करोड ४ लाख ४५ हजार ४५२ रुपियाँ १ पैसा मौज्दात रहेको छ भने नगद मौज्दात १६ लाख १५ हजार ९४१ रुपियाँ रहेको छ । यसरी अभियानको कुल मौज्दात १ करोड २० लाख ६१ हजार ३९३ रुपियाँ १ पैसा रहेको छ ।
जनसहभागिता, स्वेच्छिक सहयोग र पारदर्शिताका आधारमा अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । विकास निर्माणमा आर्थिक पारदर्शिता कायम राख्ने प्रतिबद्धता अनुसार सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको उल्लेख गर्दै आयोजकले सहयोग गर्ने देश विदेशका सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि जनसहभागितामै आधारित विकास अभियानलाई निरन्तरता दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.