दमक,३१ जेठ । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रम गरि दमकका २० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘तुलसादेवी न्यौपाने स्मृति पुरस्कार ’ –२०८३ प्रदान गरेको छ ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षतामा र साहित्यकार डा.उत्तमप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच हिमालय माविका र पृथ्वी माविका १०- १० गरि २० जना विद्यार्थीलाई जनही रु २ हजार र प्रमाणपत्र प्रदान गरि उक्त पुरस्कार वितरण गरिएको हो ।
उक्त पुरस्कारका लागि साहित्य कला संगममा डा. लेखनाथ न्यौपानेसहित उनका परिवारजनले रु १० लाख राशीको ‘तुलसादेवी न्यौपाने स्मृति पुरस्कार ’ अक्षय कोष स्थापना गरिदिएका छन् । सोहि कोषमार्फत संस्थाले बर्षेनी ती दुवै विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिआएको छ ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सल्लाहकारहरु डा. कमलप्रसाद वस्ती , पुस्ता राई ,मेची क्याम्पसका प्राध्यापक डा. गंगाप्रसाद अधिकारी मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमीरे ,उर्लावारी साहित्य समाजका सदस्यहरु रेवतीप्रसाद घिमीरे र जितेन्द्र न्यौपाने , हिमावि पूर्व बिद्यार्थी समूह २०४४ का अध्यक्ष डा. लेखनाथ न्यौपाने ,साहित्यकार विरेन्द्र थोक्लिहाङ्ग लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्यकला सङगमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले , महासचिव ओमप्रसाद खनाल , सचिव बिरेन्द्र खड्का ,सहसचिव मेघनाथ बन्धु , कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्य बिबेक दुलाल क्षेत्री ,लेखा समितिकी संयोजक गीता कुवँर, सदस्य मच्छिन्द्र याख्खा र सष्टाहरु किशोर खनाल , हरि पराजुली, गोपाल दाहाल लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा हिमावि पूर्व बिद्यार्थी समूह -२०४४ को तर्फबाट हिमावि कक्षा ९ र १० मा अध्ययन गर्ने दुई जना छात्र छात्रालाई छात्रबृति प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी स्रष्टाहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा प्रा. डा. गंगाप्रसाद अधिकारी, साहित्यकार हेमनाथ अधिकारी र हिमावि पूर्व बिद्यार्थी २०४४ समूहका सचिव अनन्त सेनेहाङले शुभकामना मन्तव्य राखेका थिए ।
साहित्य कला सङगमकी उपाध्यक्ष दुर्गा खनाल काफ्लेले स्वागत मन्तव्य राखेकी थिइन भने सञ्चालन महासचिव ओमप्रसाद खनालले गरेका थिए ।
