दमक,२० जेठ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। झापा जिल्ला अदालतको फैसला अनुसार फरार रहेका झापा दमक नगरपालिका–८ निवासी २८ वर्षीय दिवश भन्ने दिप्सन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दमक नगरपालिका–७ स्थित सिर्पाली टोलबाट पक्राउ गरेको जनाएको छ।अदालतको आदेशअनुसार चौधरीले १० वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजतलास गरी नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।