चिनियाँ सांस्कृतिक क्रान्ति र नेपालमा भइरहेको सांस्कृतिक जागरणबीच भेद

-भीम केरुङ
चिनियाँ सांस्कृतिक क्रान्ति र नेपालमा विभिन्न जाति समुदायहरूको सांस्कृतिक जागरणबीच गहिरो अन्तर छ । यी दुईबीच तुलना नै गर्न मिल्दैन । चिनियाँ सांस्कृतिक क्रान्ति प्रकारान्तरले राजनीतिक क्रान्ति नै थियो । पुरानो रोच, संस्कृति, परम्परा र पुँजीवादी प्रभावलाई रोक्न माओको नेतृत्वमा चीनमा सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) भएको थियो ।
ठूलो धनजनको क्षतिका बाबजुद पनि क्रान्ति सफल भयो । यसले सत्ता, शक्ति र व्यवस्था बदल्यो । केहीले पार्टीभित्रको सत्ता सङ्घर्ष र विरोधीहरूलाई हटाउन सांस्कृतिक क्रान्तिलाई माओले उपयोग गरे भन्ने पनि छ ।
नेपालमा २०६२-६३ को राजनीतिक रूपान्तरणपछि विभिन्न जातजातिमा सांस्कृतिक जागरणको उभार नै आएको छ, विशेषगरी आदिवासी जनजातिहरूमा । विभिन्न पर्वहरूमा समुदायहरूको सहभागिता देख्दा यो सांस्कृतिक जागरणको उत्कर्ष भन्दा पनि फरक पर्दैन ।

नेपालमा आदिवासी जनजातिहरूको सांस्कृतिक जागरण आफ्नो जोगाउने जागरण हो भने चीनको सांस्कृतिक क्रान्ति पुरानो हटाउने क्रान्ति थियो । ९० प्रतिशतभन्दा बढी हान जातिको बसोबास रहेको चीनमा ७० प्रतिशत जति एउटै भाषा (मन्डेरियन) समूह भएका कारण पनि सांस्कृतिक क्रान्ति सायद संभव भयो ।

के सांस्कृतिक जागरण राजनीतिक क्रान्तिमा बद्लिन सक्छ ? के नेपालमा भइरहेको सांस्कृतिक जागरणले सत्ता हत्याउन सक्छ ?

यसतर्फ हेरौं – सांस्कृतिक जागरण मात्रले सिधै सत्ता हत्याउने सम्भावना प्रायः हुँदैन । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकमा कुनै एक निश्चित भूभागमा बस्ने समुदायको सांस्कृतिक जागरणले एक्लै राष्ट्रिय स्तरको राजनीतिक आन्दोलन बन्न कठिन हुन्छ । तर सङ्गठन, नेतृत्व र व्यापक जनसमर्थन पायो भने सत्ता संरचनामा प्रभाव पार्न भने सक्छ ।
बोलिभिया भन्ने देशमा आदिवासीहरूको पहिचान र अधिकारको सांस्कृतिक जागरण पछि राजनीतिक आन्दोलनमा परिणत भयो । आन्दोलनपछि इभो मोरालेस राष्ट्रपतिमा पहिलो आदिवासी (Indigenous) निर्वाचित भए । तर त्यहाँ पनि आदिवासीहरूको आन्दोलन अन्ततः श्रमिक, किसान, राष्ट्रिय स्वाधीनता र वर्गीय असन्तुष्टिसँग जोडिन पुग्यो । न्युजिल्यान्डका माओरी समुदायको भाषा संस्कृति पुनर्जागरण (Renaissance) को आन्दोलनले पनि सिधै सत्ता कब्जा गर्न सकेन । तर राज्यको नीति निर्माणमा गहिरो प्रभाव पार्नसक्यो ।

आफ्नो पहिचान जोगाउनुपर्छ भन्ने चेतनाको उभार आदिवासी ,जनजातिहरूमा अहिले छ । यसको मुख्य कारण हिजोको एकात्मक, केन्द्रीकृत एवम् सामन्ती चिन्तन नै हो, जसका कारण सङ्कटमा पर्यो । यसको मुख्य जड राजा, राजतन्त्रलाई मानियो । जनताको ठूलो त्याग र बलिदानका कारण राजनीतिक रूपान्तरणसँगै आफ्नो जोगाउने अवसर मुस्किलले प्राप्त भएको हो । आफ्नो पुरानो सोच, परम्परा र संस्कृति जोगाउने सन्दर्भमा कुन ठीक ? कुन बेठीक ? समयानुकूल बहसको चरणमा नेपाली समुदाय प्रवेश नगरिसकेको अवस्था छ ।

नेपालको सन्दर्भमा आदिवासी जनजातिका पहिचान र अधिकारका मुद्दाहरू पछि २०६२-६३ को राजनीतिक आन्दोलनमा मिसिए । लामो समयसम्म शोषण, दमन, उत्पीडन र बहिष्कारण सहन बाध्य आदिवासी जनजातिहरूले चाहेजस्तो संघीयतामा मुलुक नगए पनि पहिचान र अधिकार नयाँ संविधानमा संस्थागत गर्न उनीहरूको आन्दोलनले निक्कै ठूलो प्रभाव पार्य‍ो । कार्यान्वयन पक्ष फितलो भए पनि आजको समावेशी राज्य तिनै आन्दोलनहरूको देन हो । तसर्थ, सांस्कृतिक जागरणमा मात्र सीमित नभई समयसापेक्ष राज्यको नीति निर्माण तथा त्यसको कार्यान्वयन पक्षमा सिधै आफ्नो सहभागिता बढाउन आदिवासी ,जनजातिहरूले दलीय राजनीतिमा पनि आफ्नो सहभागिता बढाउन आवश्यक छ ।
हामी अहिले पनि प्रतिशोधको जगमा उभिएर आफूलाई सम्पादन गर्न खोज्छौँ, यो ठीक होइन । एकातर्फ अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारीमा निर्भर, विज्ञान प्रविधिमा पूरै परनिर्भरता र शैक्षिक हबको रूपमा पश्चिमा मुलुकहरूप्रति हाम्रो आकर्षण बढ्नु आदि कारण पनि हाम्रा मौलिक संस्कृति, परम्परा संरक्षणमा चुनौती थपिएको छ । यसकारण भने समुदायको सांस्कृतिक जागरणप्रतिको लगाबलाई सलाम गर्नुपर्छ ।

आफ्नो पहिचान जोगाउनुपर्छ भन्ने चेतनाको उभार आदिवासी ,जनजातिहरूमा अहिले छ । यसको मुख्य कारण हिजोको एकात्मक, केन्द्रीकृत एवम् सामन्ती चिन्तन नै हो, जसका कारण सङ्कटमा पर्यो । यसको मुख्य जड राजा, राजतन्त्रलाई मानियो । जनताको ठूलो त्याग र बलिदानका कारण राजनीतिक रूपान्तरणसँगै आफ्नो जोगाउने अवसर मुस्किलले प्राप्त भएको हो । आफ्नो पुरानो सोच, परम्परा र संस्कृति जोगाउने सन्दर्भमा कुन ठीक ? कुन बेठीक ? समयानुकूल बहसको चरणमा नेपाली समुदाय प्रवेश नगरिसकेको अवस्था छ । तर चीनमा समाज परिवर्तनको बाधकका रूपमा पुरानो सोच, परम्परा र संस्कृति भएको विचार विकास भइसकेको थियोे ।
(लेखक, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख हुन् । )

Leave a Reply

Your email address will not be published.