दमकमा बोरामा भेटियो युवतीको शव,हत्या भएको आशंका

दमक,१६ जेठ । दमक –१०, सेतुमाडीस्थित रतुवाखोलामा सेतो प्लास्टिकको बोरामा युवतीको शव भेटिएको छ । रतुवाखोलाको पुल मुनी प्लास्टिकको बोरामा शनिवार शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार, करिब ३०–३२ वर्षीय युवतीको शव भेटिएको हो।

रातो भेस्ट, जिन्सको पेन्ट लगाएको युवतीको शव भेटिए पनि पहिचान खुलेको छैन। दुई–तीन दिन अघिदेखि नै पानीमा रहेकाले ढाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
डीएसपी खड्का अनुसार, मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
मृतकको बायाँ हातमा ट्याटु रहेको छ । शवको पहिचानका लागि प्रहरीले सहयोग मागेको छ । कसैले पहिचान गर्न सकेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

मेचीनगरमा अज्ञात पुरुष मृत फेला
झापाको मेचीनगर नगरपालिका–८, जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बेलुका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
अन्दाजी ३५ देखि ४० वर्ष उमेरका ती पुरुष उत्तानो परेको अवस्थामा फेला परेका हुन्। शवको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.