पथरी शनिश्चरे, ६ जेठ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पञ्चायत माध्यमिक विद्यालयले शैक्षिक सत्र -२०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए हासिल गर्ने स्वीकृति निरौलासहित चार जना विद्यार्थीलाई सम्मान गरेको छ।
विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा स्वीकृतिसहित विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने अन्य विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले ३.६ जीपीएभन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई विद्यालयमा सञ्चालित विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, पत्रकारिता तथा कानुन विषय अन्तर्गत कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने घोषणा गरे । उक्त छात्रवृत्तिको मूल्य करिब ७५ हजार रुपैयाँ बराबर रहेको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार स्वीकृतिको सर्वोत्कृष्ट नतिजाले विद्यालयसँगै समग्र नगरकै शैक्षिक प्रतिष्ठा उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ। सो अवसरमा उनलाई फूलमाला, अविर र खादा सहित नगद ५० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा प्रधानाध्यापक बुढाथोकीले निरन्तर मेहनत, अनुशासन र लगनशील अध्ययनबाट उत्कृष्ट सफलता हासिल गर्न सकिने उल्लेख गर्दै यसले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त ग।
सामुदायिक विद्यालयबाट ४ जीपीए हासिल हुनु गौरवको विषय भएको उल्लेख गर्दै विद्यालय प्रशासनले आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष युवराज बास्कोटा, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।