विराटनगर,२३ असोज । किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । शुक्रवारदेखि शुरु भएको महाधिबेशनको यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले उद्घाटन गरे । उनले प्रदेशको नाम किरात नराखिए पूर्वी नेपालमा पुनः आन्दोलन चर्किने चेतावनी दिएका छन् ।
यायोक्खा किरात राई समुदायको साझा सामाजिक संस्था हो । अध्यक्ष राईले पहिचान आन्दोलनको प्रमुख घटक आफूहरू रहेको दाबी गर्दै सरकार, प्रदेश सभा र पार्टीहरूले सच्चिन चेतावनी दिए । प्रदेशको कामकाजी भाषा राई समुदायको कम्तीमा २ भाषा पार्न र लिपी किरात सिरिजङगा बनाउन अध्यक्ष राईको माग थियो । यसरी भाषा र लिपी राखिँदा कसैलाई क्षति नहुने बरु जनता खुसी हुने उनको तर्क थियो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा, संस्कृति नेपालको अमूल्य सम्पत्ति रहेको बताउँदै यसको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताए । खापुङले संविधानमा उल्लेख भएकै विषयहरू किरात राई यायोक्खाले कार्यान्वयनको लागि माग गरेको बताए । यायोक्खा संविधानले दिएको अधिकार लिन अघि बढ्नुपर्ने र राज्य सरकारले माग पुरा गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालमा यलम्बर, जितेदस्ति लगायत किरात कालीन शासकहरूदेखि नेपालका हरेक परिवर्तनमा राई समुदायको योगदान रहेको प्रदेश प्रमुख खापुङले बताए । कार्यक्रममा पूर्व सङ्घीय सांसद दुर्गा राई, पूर्व अध्यक्षहरू यशोदा राई, दिवस राई, पूर्व उपाध्यक्ष, जनजाति आयोगका सदस्य शरणकुमार राई, यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा वर्तमान आदिवासी जनजाति महासङ्घ अध्यक्ष मेजर योगेस राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा कलाकारहरू राई नवीन, मेनुका राई र खुसेनिचो राईले विभिन्न गीतहरू गाएर मनोरञ्जन दिएका थिए । कार्यक्रम सुरु हुनुअघि रोडषेश चोकबाट विभिन्न चोकहरू परिक्रमा गर्दै नारा जुलुससहित वीरेन्द्रसभा गृह पुगेको थियो ।
सहभागीहरूले कोशी प्रदेश नाम खारेज गर, किरात प्रदेश नामकरण गर लगायतका नारा लगाएका थिए । सम्मेलनको बन्दसत्र मनास्लु होटलमा २ दिनसम्म हुने महासचिव भीम राईले बताए। सम्मेलनले नयाँ नेतृत्वको निर्वाचित गर्नेछ ।
महाधिवेशनमा २ वटा प्रदेश, २४ वटा जिल्ला, २४ वटा विदेश शाखा, १९ वटा भाषिक र ८ वटा भातृ सङ्गठनहरूबाट ७ सय प्रतिनिधि पर्यवेक्षण सहभागी हुने संस्थाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए ।२५ असोजसम्म चल्ने महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ ।
किरात राई यायोक्खाले कोशी नाम पुन नामकरण गरेर किरात राख्नुपर्ने, प्रदेशको सरकारी कामकाजको भाषा बान्तवा, चाम्लिङ लगायतलाई बनाउनुपर्ने, लिपि किरात सिरिजंङ्गा बनाइनुपर्ने माग गर्दै आएको छ । राईको जनसङ्ख्या करिब ७ लाख रहेको र यो प्रदेशमा करिब ११ प्रतिशत रहेका छन् ।