दमक,६ जेठ । दमकमा कोशी प्रदेश स्तरीय सह योग शिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।महिला पतञ्जली योग समिति नेपालको आयोजना तथा दमक -६ स्थित पशुपति मन्दिरको सभाहलमा बुधबारबाट योग तालिम शुरु भएको हो ।
कोशी प्रदेश स्तरीय सात दिवसीय उक्त तालिमको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरेका थिए । स्थानीय सरकार आफना सवै नागरिकको स्वास्थ्य सुरक्षामा जोड दिदै आएको भन्दै नगर प्रमुख थापाले पछिल्लो समय खानपान र आहार विहारका कारण मानिसमा विभिन्न समस्या आउने गरेको र त्यसबाट मुक्ति पाउने उपाय भनेकै योग भएकाले निकट भविष्य मै दमकलाई योगनगरी घोषणा गर्न लागिएको उल्लेख गरे ।
“गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ शुरु भएको तालिममा दैनिक विहान ५ बजेदेखि ७ बजेसम्म निःशुल्क बृहत योग विज्ञान शिविर सञ्चालन हुने र त्यसपछि बेलुका ५ बजेसम्म सह योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने छ । तालिममा महिला पतञ्जली योग समितिका केन्द्रीय प्रभारी पुज्य साध्वी देवा दितीले सहजीकरण गरिरहेकी छन् ।
तालिममा दुई सय जनाभन्दा बढीको सहभागीता रहेको महिला पतञ्जली योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौलाले बताईन् ।