दमक ,२८ फागुन । प्रतिनिधि सभाको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई विहिबार दमकमा पनि बिदाइ गरिएको छ। इलाका प्रहरी कार्यालय दमकको परिषरमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन प्रहरीको बिदाइ गरिएको हो।
उनीहरूलाई प्रहरी निरीक्षक नविन राई लगायतका प्रहरी अधिकृतहरुले प्रमाणपत्र प्रदान गर्नुका साथैं टीका र खादा लगाएर बिदाइ गरेका हुन्। निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले ४० दिनका लागि निर्वाचन सुरक्षार्थ प्रहरी भर्ना गरेको थियो ।
फागुन २१ गते भएको निर्वाचनका लागि देशभर १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिएका थिए। त्यस्तै, सशस्त्र प्रहरी मातहत ५ हजार ११० निर्वाचन प्रहरी परिचालन गरिएको थियो।



फोटो सौजन्य – इलाका प्रहरी कार्यालय दमक