दमक,२० फागुन । मोरङको पथरी निवासी पत्रकार तथा खोजकर्ता ४५ बर्षिय दिपेन्द्रराज तिम्सिनाको निधन भएको छ । एक साताअघि उच्च रक्तचापले थलिएपछि उपचारका लागि काठमाडौं लगिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार एक्कासी उच्च रक्तचापले थलिएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मंगलवार राती निधन भएको पारिवारिक स्रोतले बताएको छ । मोरङ , पथरीशनिश्चरे -१ निवासी तिम्सिना पत्रकारितासंगै पछिल्लो समय बिभिन्न बिषयका खोजमुलक पुस्तक लेखन तथा प्रकाशनमा ब्यस्त रहेका थिए ।
उनले टेलिफोन डायरी, नेपाल जेसीज , भुटानी शरणार्थी , तिम्सिना बन्धु , पथरीशनिश्चरे नगरपालिका ,इतिहासमा गुमनाम विसे नगर्चीलगायत १४ वटा खोजमुलक पुस्तक लेखेका छन् । २०६८ सालमा पहिलोपटक टेलिफोन डायरी संग्रह प्रकाशन गरेर लेखन यात्रा शुरु गरेका उनको पछिल्लो कृति ‘नेपालको बैंकिङ इतिहास’ वजारमा आएको थियो । सरल स्वभावका पत्रकार तिम्सिनाका आमा बुबा , श्रीमती , एक छोरा र छोरी रहेको बताइएको छ । पथरी जेसीजका पूर्वसदस्य उनी बिभिन्न संघ संस्थामा आवद्ध रहेका थिए ।