अलपत्र कन्काई पुल निर्माण गर्न माग राख्दै प्रर्दशन

दमक,२३ असोज । झापाको गौरीगञ्ज –१ का स्थानीय युवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माण गर्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समूहले प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् । उनीहरुले ’हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ’नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,’ ’सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।
हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र बन्न पुगेको हो । पुल नबन्दा यहाँका स्थानीयबासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

झापाको गौंरीगञ्ज–१ र झापा गाउँपालिकालाई जोड्ने कन्काई पुल निर्माण नहुँदा हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आवत जावत गर्नुपर्ने बाँध्यता छ । बाँसको पुल तरेर यात्रा गर्दा ५० रुपैयाँसम्म तिर्नुपर्छ भने डुंगाको सहारामा यात्रा गर्दा १०० रुपैयाँसम्म तिर्नुपरेका स्थानीय बताउँछन् ।
त्यसमा पनि पछिल्लो वर्षा र बाढीका कारण यो क्षेत्रतर्फको सम्पर्क मार्ग अवरुद्ध भएको छ । भद्रपुर देखि विराटनगर जोड्ने छोटो बाटो रहेको यस सडकमा कनकाई पुल नबन्दा अझै यातायातका साधानहरु सञ्चालनमा आउन सकेको छैन् ।
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका बासिन्दाले सास्ती खेप्दैआएका छन् । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published.