झिलझिले,२३असोज । झापाको शिबसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित कोशी प्रदेशभरका १० वटा भेट्रान क्लबहरुले सहभागिता जनाउने भएका छन् ।
बुधबार झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था झिलझिले भेट्रान क्लबले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । प्रतियोगिता सञ्चालन गर्न गठित समितिका संयोजक जसु कुलुङ राईका अनुसार झिलझिलेमा हुने यस स्थानीय स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा समर्पण गरिएको बताए ।
चाम्लिङ झिलझिले भेट्रान क्लबका खेलाडी हुन् । झिलझिलेमा खेलकुद, शिक्षा, सहकारी संस्था र सामाजिक कार्यमा सक्रिय चाम्लिङको दुईवर्ष अघि निधन भएको थियो ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक राईले प्रतियोगितामा विशेष पाहुनाका रुपमा भारतको एक क्लबसहित कोशी प्रदेशभरका १० वटा भेट्रान क्लबहरुले सहभागिता रहने जनाए ।
प्रतियोगितामा सहभागि भेट्रान क्लबहरुमा पूर्वेली भेट्रान क्लब विर्तामोड, एभरेष्ट भेट्रान क्लब मोरङ, झिलझिले भेट्रान क्लब (रातो), डिएफसी भेट्रान क्लब (भारत), रामधुनी भेट्रान क्लब सुनसरी, झिलझिले भेट्रान क्लब (निलो), दुधे भेट्रान क्लब शिबसताक्षी, ढल्केजोवन भेट्रान क्लब उर्लाबारी, चारपाने भेट्रान क्लब झापा र दमक–लखनपुर भेट्रान क्लबहरु छन् ।
प्रतियोगितामा बिजेता क्लबले रु १ लाख १ हजार पाँच रुपैया र उपबिजेता क्लबले रु ५१ हजार पाँच रुपैयासहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगिता अन्तर्गत दैनिक खेलमा एक खेलाडीलाई मेन अफ द म्याच घोषणा गरेर कपसहित नगद रुपैयाबाट पुरस्कृत गरिने छ ।
त्यस्तैं, प्रतियोगिताको फाइनलमा विभिन्न विषयगत शिर्षकमा उत्कृष्ट गोलकर्ता, गोल किपर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक तथा प्रतिभाशाली खेलाडीहरुलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
सो पत्रकार सम्मेलनमा आर्थिक संयोजक सन्तोष थेगिमका अनुसार प्रतियोगितामा अनुमानित कुल ८ लाख खर्च हुने छ । प्रतियोगिता सफल बनाउन विभिन्न देशमा रहेका पूर्व खेलाडीहरु, खेल क्षेत्रका शुभेच्छुक तथा मनकारी दाताहरुको सहयोग प्राप्त हुने ख प्रतियोगिता सम्पन्न गरिने छ ।