दमक,४ भदौ । झापाको दमकमा तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार विष्णु सुब्बा सम्मानित भएका छन्। सामाजिक अभियानमा सक्रिय जीवनचक्र समाज नेपालले आफ्नो आठौँ वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर पत्रकार सुब्बालाई सम्मान गरेको हो।
दमक–६ स्थित संस्थाको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्वसभापति तथा कार्यक्रमका प्रमुख अतिथि लीला गुरागाईंले पत्रकार सुब्बालाई सम्मानपत्र प्रदान गरेका थिए। सामाजिक अभियान, पत्रकारिता र समाजमा पु¥याएको योगदानको कदरस्वरूप सुब्बालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा जीवनचक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम (जीपी)ले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संस्थाले स्थापना भएदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक तथा सेवामूलक अभियान सञ्चालन गर्दै आएको बताए।
जीवनचक्र समाजले विशेषगरी सडक दुर्घटना न्यूनीकरण, रक्तदान अभियान, लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, सामाजिक विकृति न्यूनीकरण तथा युवामाझ सकारात्मक सोचको विकास लगायतका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको छ । संस्थाले आगामी दिनमा पनि समुदायमा प्रत्यक्ष प्रभाव पार्ने सामाजिक अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने अध्यक्ष गौतमले प्रतिवद्धता जनाए ।
वार्षिकोत्सवकै अवसरमा संस्थाको अभियानमा सक्रिय योगदान पु¥याएको भन्दै दमकस्थित आस्था कलेज जीवनचक्र युनिटकी संयोजक पूजा चम्लागाई र सदस्यद्धय तृष्णा कार्की र सन्ध्या पराजुली लाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो। सामाजिक अभियानमा युवाको सहभागिता बढाउने उद्देश्यले विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रशंसापत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लीला गुरागाईं, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं, सम्मानित व्यक्तित्व पत्रकार विष्णु सुब्बा, पत्रकार अनिलदेव राई, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्वसभापति प्रकाश बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले सामाजिक संस्थाहरूले समुदायका वास्तविक समस्यालाई पहिचान गरी समाधानमुखी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनीहरूले सामाजिक रूपान्तरणका लागि सञ्चार क्षेत्र, युवा र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।
सम्मानित पत्रकार सुब्बाले सामाजिक संस्थाले आफ्नो योगदानको मूल्याङ्कन गर्दै सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताए। उनले पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यमसमेत भएकाले सामाजिक अभियानसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश प्रधानले गरेका थिए भने उपाध्यक्ष बिन्दु सिटौलाले स्वागत मन्तव्य राखेकी थिइन्। वार्षिकोत्सवसँगै सम्पन्न साधारणसभाले संस्थाको आगामी कार्यदिशा र सामाजिक अभियानलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल गरेको थियो।
जीवनचक्र समाज नेपालले आगामी दिनमा सडक सुरक्षा, रक्तदान, लागूऔषधविरुद्धको अभियान तथा युवाकेन्द्रित सामाजिक सचेतना कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।