-भिमराज केरुङ
तुलनात्मक रूपमा हेर्दा पार्टीको संस्थापन पक्षमा रहेका अधिकांश नेता तथा कार्यकर्ता उमेरले युवा, विचारले प्रगतिशील र राजनीतिक परिवर्तनप्रति उदार देखिन्छन् । पार्टी सभापति गगन थापाकै कुरा गर्ने हो भने, उनी लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि एक होनहार योद्धा हुन् । यो पङ्क्तिकार कतिपय मोर्चामा उनीसँगै आन्दोलनमा सहभागी भएको पनि छ । गगनजस्ता थुप्रै नेता तथा कार्यकर्ता अहिले काङ्ग्रेसको संस्थापन पक्षमा छन् । मूलतः काङ्ग्रेसको भविष्य तिनै नयाँ नेतृत्वको काँधमा निर्भर रहनेछ ।
नेपाल राजनीतिक अकर्मण्यताकै कारण आर्थिक पछौटेपन, विज्ञान तथा प्रविधिमा अपेक्षित प्रगतिको अभाव र बढ्दो सामाजिक असन्तुष्टिजस्ता गम्भीर चुनौतीसँग जुधिरहेको छ । सत्ता स्वार्थ र चरम वैयक्तिक स्वार्थ हावी भइरहँदा राष्ट्रिय स्वाभिमान कमजोर मात्र भएको छैन, पटकपटक भएका क्रान्ति, आन्दोलन र राजनीतिक परिवर्तनको औचित्यसमेत पुष्टि हुन सकेको छैन । जनतामा निराशा, असन्तुष्टि, आक्रोश र विदेश पलायनको मानसिकता बढ्दो छ ।
…………………………………………………………………………………………
नेपाली काङ्ग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा एउटा रोचक र अर्थपूर्ण दृश्य देखियो । पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतबीच मञ्चमै कागज खोसाखोस भयो । वाचन गर्न लागिएको प्रतिवेदनमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने शब्दावली समेटिएको विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएको रहेछ । उक्त शब्दावलीले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने प्रत्यक्ष अर्थबोध नगरे पनि संस्थापनइतर पक्षभित्र धर्मलाई राजनीतिक मुद्दाका रूपमा अघि बढाउने मनोविज्ञान विकसित भएको देखिन्छ । कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाले ‘म हिन्दु हुँ, हिन्दु, हिन्दु, हिन्दु’ भने, जुन निकै अस्वाभाविक र अशोभनीय देखिन्थ्यो ।
जेन्जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भौतिक हमला, घर तोडफोड तथा आगजनी भएपछि स्वास्थ्य उपचारका नाममा उनीहरू लामो समय सिङ्गापुर र हङकङमा थिए । यता, गगन(विश्वप्रकाश पक्षले पार्टीको विशेष महाधिवेशन बोलाई गगन थापाको सभापतित्वमा नयाँ समिति चयन गर्यो । आधिकारिकताको विषयमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई मान्यता दियो । सोही मान्यतालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि पटकपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवासहित अधिकांश पुराना, पाका तथा अनुभवी नेताहरू पार्टीभित्रै संस्थापनइतर पक्ष बन्न पुगे । नेपाली राजनीतिमा यो रोचक र गम्भीर चासोको विषय बन्यो ।
पार्टी संस्थापनइतर पक्षले अब के गर्छ ? पार्टीभित्र उनीहरूको व्यवस्थापन कसरी हुन्छ? भन्ने चासो बढिरहेका बेला पूर्वसभापति देउवा करिब पाँच महिनापछि स्वदेश फर्किएका हुन् । त्यसलगत्तै पार्टी संस्थापनइतर पक्षले साउन २९ गतेदेखि तीनदिने राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्यो ।
इतिहासतर्फ फर्केर हेर्दा धर्म र राजसंस्थाको विषयमा नेपाली काङ्ग्रेसको धारणा जहिल्यै दुविधाजनक रहँदै आएको देखिन्छ । काङ्ग्रेसले निकै मुस्किलले राजसंस्था त्यागेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेको हो । २०६२-६३ सालको जनआन्दोलनको सेरोफेरोमा नेपाली काङ्ग्रेस र यसका शीर्ष नेताहरूले व्यक्त गरेका धारणा स्मरण गरे पुग्छ ।

नेपाली काङ्ग्रेस संस्थापनइतर पक्षले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ । सत्ता गुमेको पीडा र राजनीतिक भविष्यको चिन्तालाई धर्मको भावनात्मक मुद्दासँग साट्नुको सट्टा आफ्ना नीति, नेतृत्व, सङ्गठन र विगतका राजनीतिक कमजोरीको समीक्षाबाट आफूलाई माथि उठाउनु बढी लाभदायक हुन्छ । नेपालजस्तो सामाजिक संरचना भएको मुलुकमा राजनीतिक दलको शक्ति कुनै एक धर्मको आडमा होइन, सबै समुदायको विश्वास जित्ने साझा राष्ट्रिय एजेन्डा निर्माणमा हुनुपर्छ ।
……………………………………………………………………………………………………………
धर्मलाई राजनीतिक अस्त्र बनाउने प्रवृत्ति विश्वका विभिन्न देशमा देखिन्छ । धर्म, जाति र भाषाजस्ता संवेदनशील विषयलाई राजनीतिक हतियार बनाउँदा सामाजिक संरचना र जनचाहनालाई बेवास्ता गरियो भने त्यसले सामाजिक ध्रुवीकरणलाई बढावा दिन्छ । तसर्थ, यी विषयमा आवश्यकताभन्दा बढी कठोर -rigid बन्दा राष्ट्रिय साझा पहिचान, सामाजिक एकता र विकासका मूल एजेन्डा ओझेलमा पर्ने सम्भावना प्रवल हुन्छ । राज्य र राजनीतिक दलबाट हरेक समुदायप्रति सन्तुलित, समान तथा सम्मानजनक व्यवहार हुनु हरेक समुदायको अपेक्षा हुन्छ ।
नेपालमा धर्मलाई राजनीतिक आवरणको परोक्षमात्र नभई प्रत्यक्ष रूपमा राजनीतिक मुद्दा बनाउन थालिएको छ । २०६२-६३ को जनआन्दोलनपछि राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था पुनर्बहालीको माग गर्दै औपचारिक रूपमा धर्मको राजनीति सुरु गरेको थियो । पछिल्लो समय यिनै मुद्दा केही व्यक्ति एवम् धार्मिक संस्थाहरूले पनि उठाउने गरेका छन् । नेपाली काङ्ग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाले हिन्दु धर्मको प्रसङ्ग उठाउँदै अन्य धर्महरूको पनि प्रसङ्ग जोडे । यद्यपि भाषण र दस्तावेजमा नेतृत्वहरूले अन्य धर्मको प्रसङ्ग जोडे पनि सम्बन्धित धार्मिक समुदायमा त्यसप्रति कुनै आकर्षण देखिँदैन । लामो समय सामाजिक, सांस्कृतिक तथा राजनीतिक उत्पीडन झेलेका विभिन्न धार्मिक तथा जातीय समुदायहरू धर्मको विषयलाई सकेसम्म चलाउन चाहँदैनन् ।
‘राष्ट्रियता खतरामा छ, राष्ट्र जोगाउन हिन्दु राष्ट्र र राजसंस्था चाहिन्छ’ भन्नु ऐतिहासिक र राजनीतिक दृष्टिले वाहियात र जाली तर्क मान्न सकिन्छ । इतिहास, वर्तमान र भविष्यको संश्लेषित अध्ययन र अनुमानले पनि यसको पुष्टि गर्छ । फगत पुरानो, सम्भ्रान्त वर्गको पञ्जाबाट फुत्किएको राज्यसत्ता पुनः हत्याउने राजनीतिक कुटिल चालबाजी वा ललिपप मात्र भएको भन्दा अत्युक्ति नहोला ।
तुलनात्मक रूपमा हेर्दा पार्टीको संस्थापन पक्षमा रहेका अधिकांश नेता तथा कार्यकर्ता उमेरले युवा, विचारले प्रगतिशील र राजनीतिक परिवर्तनप्रति उदार देखिन्छन् । पार्टी सभापति गगन थापाकै कुरा गर्ने हो भने, उनी लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि एक होनहार योद्धा हुन् । यो पङ्क्तिकार कतिपय मोर्चामा उनीसँगै आन्दोलनमा सहभागी भएको पनि छ । गगनजस्ता थुप्रै नेता तथा कार्यकर्ता अहिले काङ्ग्रेसको संस्थापन पक्षमा छन् । मूलतः काङ्ग्रेसको भविष्य तिनै नयाँ नेतृत्वको काँधमा निर्भर रहनेछ ।
नेपाल राजनीतिक अकर्मण्यताकै कारण आर्थिक पछौटेपन, विज्ञान तथा प्रविधिमा अपेक्षित प्रगतिको अभाव र बढ्दो सामाजिक असन्तुष्टिजस्ता गम्भीर चुनौतीसँग जुधिरहेको छ । सत्ता स्वार्थ र चरम वैयक्तिक स्वार्थ हावी भइरहँदा राष्ट्रिय स्वाभिमान कमजोर मात्र भएको छैन, पटकपटक भएका क्रान्ति, आन्दोलन र राजनीतिक परिवर्तनको औचित्यसमेत पुष्टि हुन सकेको छैन । जनतामा निराशा, असन्तुष्टि, आक्रोश र विदेश पलायनको मानसिकता बढ्दो छ ।
यस्तो पृष्ठभूमिमा काङ्ग्रेस संस्थापनइतर पक्षले आफ्नो गुमेको पार्टीसत्ता र राज्यसत्ता हासिल गर्न अन्तिम विकल्पका रूपमा धर्मलाई सहारा लिएको छ । यो रणनीति दूरगामी रूपमा प्रतिउत्पादक बन्न सक्छ । यो त्यही पुरानो भरुवा बन्दुकले तेस्रो विश्वयुद्ध जित्ने कल्पना गरेजस्तै हो । धर्मको राजनीतिबाट आधुनिक, बहुलवादी र लोकतान्त्रिक समाजलाई आफ्नो पक्षमा कैद गर्न सकिन्छ भन्ने सोच यथार्थपरक हुँदैन । धर्मको राजनीति अन्ततः सामाजिक विविधता र बहुलवादका लागि प्रतिकूल बन्ने सम्भावना बढी हुन्छ ।
त्यसैले नेपाली काङ्ग्रेस संस्थापनइतर पक्षले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ । सत्ता गुमेको पीडा र राजनीतिक भविष्यको चिन्तालाई धर्मको भावनात्मक मुद्दासँग साट्नुको सट्टा आफ्ना नीति, नेतृत्व, सङ्गठन र विगतका राजनीतिक कमजोरीको समीक्षाबाट आफूलाई माथि उठाउनु बढी लाभदायक हुन्छ । नेपालजस्तो सामाजिक संरचना भएको मुलुकमा राजनीतिक दलको शक्ति कुनै एक धर्मको आडमा होइन, सबै समुदायको विश्वास जित्ने साझा राष्ट्रिय एजेन्डा निर्माणमा हुनुपर्छ ।
अन्ततः धर्म, जाति र भाषालाई राजनीतिक भरुवा बन्दुक बनाउने प्रयासले तत्काल केही राजनीतिक लाभ दिलाए पनि दीर्घकालमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कमजोर बनाउन सक्छ । नेपालको राजनीतिक भविष्य धार्मिक ध्रुवीकरणमा होइन, लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समृद्धि, वैज्ञानिक चेतना तथा सबै समुदायका लागि समान, सम्मान र अवसर सुनिश्चित गर्ने राजनीतिक संस्कारमा सुरक्षित छ ।