झापा, ९ भदौं । पूर्वराजा ज्ञानेन्द्र शाहसहितका परिवार १० दिने बसाइँका लागि आज झापा आइपुगेका छन् । सोमबार दिउँसो १२ः४५ बजे बुद्ध एयरको बीएचए ९५५ को नियमित उडानमार्फत पूर्व राजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा शाहलगायत ६ सदस्यीय टोली आइपुगेका हुन् । चन्द्रगढी बिमानस्थलको बिशिष्ट कक्षमा भद्रपुर नगरपालिकाकी नगर उपप्रमुख राधा कार्कीको नेतृत्वमा करिब ४० जनाले पूर्वराजा शाहलगायतलाई फुलमालाले स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गर्न पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, पूर्व श्रम तथा पूर्वाधार विकास सहायक मन्त्री टेकनारायण राजवंशी ,नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, परिषद्का उपाध्यक्ष बल्लवप्रसाद दाहाल, परिषद्का मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहाल ,सुभद्रादेवी गेलाल , ज्वाला दाहाल लगायतका राजावादीहरु विमानस्थल पुगेका थिए ।
स्वागतपश्चात् शाह दमक –९ हिमालयन महालक्ष्मी टि इस्टेटस्थित मिनी दरबारतर्फ प्रस्थान गरेका छन् ।यसअघि राजावादीहरुको आन्दोलन चलिरहेका बेला उनी गत जेठको दोस्रो सातासम्म झापा आएका थिए ।