दमक,२८ साउन । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यका छोराछोरीले सहकारीका विषयमा विद्यावारिधी( पिएचडी ) गर्नका लागि रु १ लाख रुपैया अध्ययन खर्च दिने भएको छ ।
संस्थाले बुधबारदेखि शुरु गरेको २९ औं बार्षिकोत्सव तथा ३१ औं साधारणसभामा सो सम्बन्धी उक्त प्रस्ताव लगिएको अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त प्रस्ताव साधारणसभाले पारित गरे लगत्तै कार्यान्वयनमा आउने उनको भनाई छ ।
उनका अनुसार संस्थाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने सदस्यका सन्तानलाई यस किसिमका शैक्षिक छात्रवृत्ति र पुरस्कार वितरण गर्दै आएको छ । सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधी गर्दा अध्ययन खर्चदेखि एसईईमा जिल्ला प्रथमलाई रु ५० हजार, ४ जिपिए ल्याउनेलाई रु २५ हजार दिने सम्मका शैक्षिक प्रोत्साहन कार्यक्रम ल्याइएको अध्यक्ष भट्टराईले बताए ।
यसैगरि, संस्थाले आफनै विद्यालय सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ । त्यसका लागि रु २ करोड रुपैया प्रस्तावका रुपमा साधारणसभामा पेश गरिएको उनले सुनाए । सहकारीले वित्तिय मात्र नभएर हरेक क्षेत्रमा व्यवसायिक बन्नु पर्छ भन्ने लक्ष्यका साथ विद्यालय तथा पानी उद्योग खोल्ने सम्मका नौलो कार्यक्रमहरु एकैसाथ सञ्चालनमा ल्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताए ।
संस्थाले दमकसहित झापाको कमल,विर्तामोड, कनकाई, गौरादह , शिवसताक्षीमा गरि ६ ,मोरङको उर्लावारी,पथरी, मिक्लाजुङ,लेटाङ र बेलवारीमा गरि ५ वटा स्थानमा सेवा कार्यालय सञ्चालनमा छन् । यस्तै, इलामको चुलाचुलीमा एक गरि १२ वटा स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थामा ३ सय कर्मचारी रहेको र हाल १७ हजार ८ सय १७ शेयर सदस्य रहेको उल्लेख छ । संस्थाका सदस्यहरुलाई बोनस र संरक्षित पूंजी कोषको साथमा जन्मेखि मृत्युसम्मका विभिन्न ३० वटा शीर्षकबाट सुविधा उपलव्ध गराउदै आएको छ ।
२ करोड ७४ लाख बढी रुपैयाँ राज्यलाई कर
यसैगरि, संस्थाले सदस्यहरुसंग आर्थिक कारोवार गरि आर्थिक बर्ष २०८१-२०८२ मा रु २ करोड ७४ लाख २१ हजार ७ सय १ रुपैयाँ राज्यलाई कर बुझाएको छ । जसअनुसार सवैभन्दा बढी रु १ करोड ४९ लाख ९३ हजार ८ सय ६७ रुपैया व्याजकर ,रु ७१ लाख ६१ हजार २ सय १३ रुपैया आयकर बुझाएको उल्लेख छ ।
यसैवीच , बुधबार विहान संस्थाले साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको थियो । संस्थाको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन संस्थाका अध्यक्षसहित बरिष्ठ उपध्यक्ष पदम थापा, दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, सञ्चार उपसमितिका संयोजक नरपति पाण्डे लगायतले संयुक्त रुपमा सार्वजनिकीकरण गरेका सचिव राजेन्द्र दाहालले बताए ।