झापा, ५ साउन । नेपाल प्रेस युनियनले आगामी २०८३जेठ मसान्तसम्म केन्द्रीय महाधबेशन सम्पन्न गर्ने भएको छ । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारका हक–हित र संगठनको आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गर्दे आसन्न महाधिबेशन तय गरेको हो ।
कार्यसमितिको बैठकले युनियनको वर्तमान कार्यकाललाई विशेष परिस्थितिका कारण विधानअनुसार थप गर्दै १०औं केन्द्रीय महाधिवेशन २०८३ सालको जेठ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको उल्लेख छ । त्यसअगावै २०८२ मंसिरमा विधान संशोधनका लागि विधान सभा आयोजना गरिनेछ । युनियनको विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम केसीको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।
संगठन विस्तार र सशक्तिकरणको लक्ष्यसहित साउन १५ गतेदेखि कात्तिक २१ गतेसम्म १०० दिने सदस्यता नवीकरण तथा वितरण अभियान सञ्चालन गरिने भएको छ । साथै, पत्रकारसँग युनियन अभियान पनि सञ्चालन गरिनेछ ।
बैठकले पछिल्लो तीन वर्षे कार्यकालको समीक्षा गर्दै श्रमजीवी पत्रकारको हकहित, सञ्चारसम्बन्धी कानुन निर्माणमा पैरवी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सीप अभिवृद्धिका कार्यक्रम अपेक्षाकृत रूपमा सम्पन्न गरिएको निष्कर्ष निकालेको छ । बाँकी कार्यकालमा संगठनलाई अझ सक्रिय, गतिशील र प्रभावकारी बनाउन संगठनका सबै तहलाई परिचालन गरिने भएको छ ।
प्रेस स्वतन्त्रताको सन्दर्भमा बैठकले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कायम राख्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ ।
हाल पत्रकारिता क्षेत्रमा आचारसंहिताविपरीत गतिविधि बढ्दै गएको भन्दै युनियनले सम्पूर्ण सञ्चारकर्मीलाई व्यावसायिक धर्म र आचारसंहिता पालना गर्न आग्रह गरेको छ । त्यस्तै, सञ्चारकर्मीका श्रमसम्बन्धी समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक सुनिश्चितता र सामाजिक सुरक्षामा जोड दिइएको छ ।
लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिता, समानुपातिक र अनलाइन मिडियालाई समावेश गराउन युनियनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
युनियनको निर्देशन विपरीत कार्य गरेकालाई कारबाही गरिए पनि उनीहरूले आत्मालोचनासहित निवेदन दिएमा अनुशासन समितिले पुनर्विचार गर्ने व्यवस्था गरिएको छ ।
साथै, युट्युब र सामाजिक सञ्जालमा भइरहेको पत्रकारिता अभ्यासलाई मर्यादित र जवाफदेही बनाउन सरकारलाई नीतिगत हस्तक्षेप गर्न आग्रह गरिएको छ । कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएकाले आवश्यक प्रशिक्षण, साक्षरता र नीतिगत व्यवस्था गर्न युनियनले अभियान चलाउने जनाएको छ ।
बैठकले पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गर्नुका साथैं कोष सञ्चालन र रकम संकलनका लागि कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा समिति गठन गरिएको छ ।