इलाम,१९ साउन । इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा ११ वर्षीय छोरा आहान खत्रीको मृत्यु भएको छ । छोराको मृत्यु भएपछि उनकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्रीले पनि आत्महत्या गरेकी छन् ।
गुल्मी जिल्ला स्थायी घर भएका आहान पछिल्लो ८–९ वर्षदेखि माईजोगमाई गाउँपालिका–२ स्थित मामाघरमा आमासँग बस्दै आएका थिए । सोमबार विद्यालयबाट घर फर्कने क्रममा स्थानीय बजुर खोलाले आहानलाई बगाएको थियो।
छोराको मृत्यु भएपछि आमा अमृताले आत्महत्या गरेको बताइएको छ । घरबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा अमृता मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक देवीदत्त मोतेका अनुसार छोरा आहानको मृत्यु भएपछि अमृता बेपत्ता भएकी र खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको हो।
प्रहरीले दुवै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । मृतक आहानका बुबा अनिल खत्री वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
यसैबिच, लगातारको वर्षाका कारण इलामका विभिन्न खोलामा पानीको बहाव बढेको छ । इलाम नगरपालिका–९ स्थित पुवाखोलामा मेची करिडोर (इलाम–बिर्तामोड भित्री सडक) र माईजोगमाई गाउँपालिका–४, माईबेनीस्थित तिल्केनी–सिलपुर भित्री कच्ची सडकमा डाइभर्सनमाथिबाट पानी बगेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।्