-विदाको दिन पनि स्वास्थ्यकर्मी सक्रिय
कमल ,२ चैत । जिल्लाको कमल गाउँपालिका–२ ले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि घरधुरी सर्वेक्षण अभियान सञ्चालन गरेको छ ।
आज शनिवार सार्वजनिक विदाको दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा टोल विकास संस्थाहरूको टोलीले नौ वटै टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको खोप अवस्था मूल्यांकनसहित सर्वेक्षण गरिएको हो ।
गाउँपालिकालाई पूर्ण खोप बनाउन लक्ष्यका साथ स्वास्थ्य शाखाले कमलका ७ वटै वडामा घरधुरी सर्वेक्षण अभियान शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख विनु थापाले बताए । सोहि कार्यक्रम अन्तगर्त २ नम्बर वडाले ‘पूर्ण खोप वडा’ घोषणाका लागि वडास्तरमा पूर्ण खोप शुनिश्चतताका लागि घरघर पुगेर घरधुरी सर्वेक्षण थालिएको उनको भनाई छ ।
अभियान अन्तर्गत ५०० भन्दा बढी घरपरिवारमा प्रत्यक्ष सम्पर्क, १०० भन्दा बढी अभिभावकहरूसँग अन्तरक्रिया, पाँच जना छुटेका बालबालिकाहरुको पहिचान तथा समुदायमा खोप अभियानबारे सचेतना सचेतना समेत दिदैआएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले जानकारी दिएका छन् ।
कमल–२ वडा अध्यक्ष अशोक सुब्बाका अनुसार बाँकी घरधुरीहरूको सर्वेक्षण अन्य दिनमा पनि निरन्तर गरिनेछ । कमल–२ वडा कार्यालयले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै निरन्तर क्रियाशील रहेको छ । कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार यो घरधुरी सर्वेक्षणमा अभियानमा मेडिकल सुपरिटेन्डेन्ट डा. लावतीको नेतृत्वमा स्वास्थ्यकर्मीहरूले अभिभावकहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
नेपाल सरकारले ‘सबैका लागि खोप, दिगो स्वास्थ्यको आधार’ भन्ने लक्ष्य लिएको छ । तर, विभिन्न कारणले गर्दा अझै पनि केही बालबालिका खोपबाट वञ्चित रहेका कारण नियमित खोप केन्द्रमार्फत खोप लगाइने र यसले वडालाई ‘पूर्ण खोप वडा’ घोषणा गर्न मद्धत पुग्ने अध्यक्ष हुकुमसिह राईले जानकारी दिए । कमल गाउँपालिकाका सात वटै वडा यसरीनै पूर्ण खोप वडा घोषणा भएपछि सिंगो कमल गाउँ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने अध्यक्ष राईले बताए ।