झापा, १७ साउन । तीनवटा लिम्बुवानजन्य संगठनहरु पार्टीबीच फेरि एकीकरण भएको छ ।एक्लाएक्लै अस्तित्व नहुने देखेर राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबीच एकीकरण गरि पार्टीका नाम नेपाल जनमुक्ति पार्टी (नेजपा) राखिएको जनाएका हुन् ।
एकीकरण गरिएको पार्टीले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरि विचार र मुद्दा मिल्ने तीन पार्टीबीच एकीकरण गरिएको जानकारी दिएका छन् । नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले लिम्बूवानका मुद्यालाई थप शसक्त बनाउन तीन पार्टी एकीकरण भई नयाँ पार्टी निर्माण गरिएको बताए । तीन पार्टीबीच २०८० मंसिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएको थियो । गत वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले उक्त सहमतिलाई अनुमोदन गरेको थियो । गत जेठ २९ गते निर्वाचन आयोगमा अद्यावधिक भएपछि पार्टीको नाम संशोधन भई नेपाल जनमुक्ति पार्टी भएको र अब उप्रान्त पार्टीको सम्पूर्ण गतिविधिहरु यसै नामबाट सञ्चालन हुने जनाईएको छ ।
एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र बाँकी अन्यको हकमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ ।
यस्तै, पार्टी नेता सञ्जुहाङ पालुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एलवी पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।