इलाम, १ जेठ । इलामको काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।इलाम माई नगरपालिका ६ साँघुरी बस्ने अन्दाजी बर्ष ३१का शक्तिकुमार राई रहेका छन् । उनलाई हिजो सोमबार साँझ ७ बजेको समयमा काबेली कोरिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो । घाइते राईलाई उनका काका मनिराज राईले उपचारका लागि माई अस्पतालमा ल्याएका थिए ।
उपचारका क्रममा उनको राति ८.२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । राई ज्यालामा काबेली कोरिडोरमा काम गर्दै आएका थिए ।उनलाई ठेकेदार गजेन्द्र मिश्रले काममा लगाएका थिए । घटनाका बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।