दमक ,१७ चैत । झापाको कमल गाउँपालिकामा गएराति जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वडाअध्यक्ष लालबहादुर विष्टका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका ५ गुहेश्वरी टोलकी ५८ बर्षिया खड्गमाया लिम्बू रहेकी छन् ।
छिमेकी पवित्रा बेघाको त्रिपालको छाना, टाटीको बेरा भएको भुइँतले झुप्रो घरमा सुतिरहेको अवस्थामा राति ११.५० बजेको समयमा एक्कासी जंगली हात्ती आई घर भत्काउदै गर्दा निस्केर भाग्ने क्रममा खड्गमायालाई हात्तीले आक्रमण गरेको थियो । घरदेखि अन्दाजी ३० मिटर पश्चिमदक्षिण दिशातर्फ हात्तीले भेटी उनलाई क्षतविक्षत बनाउदाँ उनको घट्नास्थलमा नै मृत्यु भएको वडाअध्यक्ष विष्टले बताए ।
लिम्बू परिवार केहिवर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जंगल हातामा कटेरो बनाई बस्दैआएका थिए । वर्षददिन अघि समेत सोहि बस्तीमा जंगली हात्तीको आक्रमणमा परेर गत साउन २३ गते टुक्रेका ५८ बर्षिय रोहित रेग्मीको मृत्युभएको थियो ।
जिल्लाको शिवसताक्षीमा तीन दिन मात्र हात्तीले शिवसताक्षी ११ की ६० वर्षीया पवित्रा भेट्वालको मृत्यु भएको थियो भने श्रीमान् ६२ वर्षीय दिलिप भेट्वाल गंभीर घाइते भएका थिए ।
योसंगै यस वर्ष हात्तीको आक्रमणबाट झापामा ७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७ जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिईन् ।