धरान,१ चैत । उदयपुरको बेलका -७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतसहित ७ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ६–७ महिनाको बच्चासहित ४ जना महिला र २ जना पुरुष रहेका छन् । उनीहरुको सनाखत भने हुन सकेको छैन् । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।