दमक,७ भदौं । कुष्ठरोगको समयमै पहिचान, रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले झापाको कमल गाउँपालिकामा कुष्ठरोग सक्रिय खोजपड्ताल रोकथाम सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
नेपाल कुष्ठरोग सङ्गति र फेयरमेड साहारा नेपालको समन्वय, स्वास्थ्य कार्यालय झापाको सहकार्य तथा कमल गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
स्थानीय सरकारको प्राथमिकतामा रहेको समुदायमुखी स्वास्थ्य सेवा विस्तार अभियानअन्तर्गत आइतवार कमल -७ मा अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको टोली समुदायका नागरिकको घरदैलोमै पुगेको थियो।
स्वास्थ्य शाखा प्रमुख दिपक दाहालका अनुसार अभियानका क्रममा कमल गाउँपालिका–७ अन्तर्गत सरस्वती टोल, सृजनशील टोल, सैनिक चोक, पाथीभरा टोल, पशुपति टोल, रंगपुर तथा बार्हघरे आसपासका क्षेत्रहरूमा पुगेर कुष्ठरोगको सक्रिय खोजपड्ताल गरिएको थियो। घरदैलो कार्यक्रममार्फत समुदायका नागरिकलाई कुष्ठरोगसम्बन्धी जानकारी तथा सचेतना प्रदान गर्नुका साथै सम्भावित लक्षण भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको उनले बताएका छन् ।
कार्यक्रममा नेपाल कुष्ठरोग सङ्गतिका कार्यक्रम अधिकृत डी.बी. गुरुङ तथा फेयरमेड साहारा नेपालका प्रतिनिधि निखिता श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यसैगरी, स्वास्थ्य कार्यालय झापाका क्षयकुष्ठ रोग कार्यक्रम फोकल पर्सन वीरेन्द्र दास तथा जनस्वास्थ्य अधिकृत खुश्बु राई, कमल गाउँपालिकाका स्वास्थ्य संयोजक दीपकप्रसाद दाहाल, लखनपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक देवराज पराजुली तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का सिनीयर अहेव अधिकृत अमृतबहादुर लिम्बू लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा प्रदेशवाणीसँग कुरा गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले कुष्ठरोग पूर्ण रूपमा उपचार गर्न सकिने रोग भएकाले यसप्रति समाजमा रहेका भ्रम, डर तथा विभेद अन्त्य गर्न सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले कुष्ठरोगका शंकास्पद लक्षण देखिएमा लुकाएर नराखी नजिकको स्वास्थ्य संस्थामा गई समयमै परीक्षण तथा उपचार गराउनसमेत आग्रह गरे ।