उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु,तीन घाइते

उदयपुर ,८ भदौं । उदयपुरको बेलका नगरपालिका–५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस सोमबार बिहान करिब ९ः४५ बजे एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परेर अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका चिकित्सकले मध्याह्न ११ः४५ बजे बेलका नगरपालिका–५ बस्ने ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, वतन नखुलेकी अर्की एक महिलालाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अटो चालक बेलका–५ का २८ वर्षीय इन्द्र थापा र सोही ठाउँका १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन्। यस्तै मोरङ विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम छ । तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र चालक बेलका–५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस र चालक थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published.