दमक,५ माघ । नेपाल सगरमाथा तेक्वान्दो डोजाङ दमककलाई यूकेस्थित डोजाङका अध्यक्ष रन्दिप राईले विभिन्न खेल सामाग्रीहरु उपलव्ध गराएका छन् ।दमक- ५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा आज एक कार्यक्रमका बीच युकेस्थित मुख्यालय डोजाङका अध्यक्ष राईले विभिन्न खेल सामाग्रीहरु दमक डोजाङलाई प्रदान गरेका हुन् । उनले ती खेल सामाग्रीहरु दमक डोजाङका अध्यक्ष जितु धिमाललाई हस्तान्तरण गरे ।
करिव १ लाख मूल्यका ती हस्तान्तरण गरिएका खेल सामाग्रीहरुमा तेक्वान्दो खेलका लागि चाहिने चेष्ट गार्ड,हेड गार्ड, हेण्ड गार्ड, लेग गार्ड ,किक प्याड,किक व्याग, ग्लोव्स, इस्कीपिङ लगायतका आवश्यक सामाग्रीहरु रहेका छन् ।
खेल सामाग्रीहरु हस्तान्तरण गर्दें अध्यक्ष राईले डोजाङमा आवद्ध खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि खेल सामाग्री उपयोगी हुने विश्वास व्यक्त गरे । उनले खेलका माध्यमबाट खेलाडी र समाजनै अनुशासित बन्न टेवा पुग्ने विचार व्यक्त गरे ।
कार्यक्रममा सर्वोदय अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सिपल तथा सगरमाथा तेक्वान्दो डोजाङका उपाध्यक्ष नविन योगी,पत्रकारहरु, खेलाडी तथा कोचहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा सहभागिहरुले नेपाल सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक ग्राण्डमास्टर स्व. राष्ट्र राईको तस्वीरमा फूलगुच्छाले माल्यापर्ण गर्नुका साथै उनको सम्झनामा एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली समेत अपर्ण गरिएको डोजाङ दमक शाखाका सचिव रोशन दाहालले बताए ।