ताप्लेजुङ, २१ मङ्सिर । भीरबाट लडेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियार रहेका छन् ।
सोमबार बिहान निस्किएका परियार साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्दा उनको शव फेला पारेका थिए । खोजी गर्ने क्रममा स्थानीय काफलडाँडा भीरको फेदीमा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।
परियारको शवलाई पोस्टमार्टम गर्न प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्याइएको छ । बाटो हिँड्ने क्रममा उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यता घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।