झापा लिग : बुद्धशान्ति गाउँपालिका सेमिफाइनलमा प्रवेश

भद्रपुर, १९ मंसिर । झापाको भद्रपुरमा सञ्चालित ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरि सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो ।
शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत ८ गोल भएको छ ।
खेलको ११ औँ, ४१ औँ, ६६ औँ र ७९ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।
उनलाई गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको दोस्रो क्वार्टर फाइनल खेलमा झापा गाउँपालिका विजयी भएको छ । झापाले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भए पनि खेलको ७१ औँ मिनेटमा झापा गाउँपालिकाका किरण उराउले गरेको गोल नै निर्णायक बन्यो ।खेलको प्लेयर अफ दि म्याच झापा गाउँपालिकाका उमेश मुर्मू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योगी होम पाण्डेले नगद दुई हजार र ट्रफी प्रदान गरे ।जितसँगै झापाले फाइनल प्रवेशका लागि बुद्धशान्तिको सामना गर्नेछ । खेल मंसिर २२ गते हुनेछ ।
खेल तालिका अनुसार तेस्रो कवार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.