दमक,३० कार्तिक । झापा र सुनसरीका तीन अलग अलग स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्युभएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सडकमा भैसीसँग मोटरसाइकल ठोक्किदा झापाको कमल गाउँपालिकामा एक जनाको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् ।
कमल गाउँपालिका ३ स्थित सहिद गेट नजिकैको सडकमा को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो एक्कासी भैसीसँग ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकल चालक मोरङ ,सुन्दरहरैचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगरको मृत्यु भएको हो । तीव्र गतिको मोटरसाईकल अनियन्त्रित हुदाँ जंगलबाट चरेर आउदै गरेको भैसीसंग ठोक्किन पुगेको छ ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार सुनसरी, इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते हुनुभएको जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो । दुर्घटनामा परेका दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिदै गर्दा मगरको बाटोमा नै मुत्यु भएको र अर्का घाइते चौधरीको उपचार भइरहेको छ ।
सुनसरीमा २ जनाको मृत्यु
सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।धरान उपमहानगरपालिका–६ मालपोत चोकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएकी छन् ।
को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरी, इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार मृत्युभएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।