कमल,४ कार्तिक । झापाको कमल गाउँपालिकामा सञ्चालित चौथो अन्तर वडा स्तरीय नकआउट फुटबल प्रतियोगियताको उपाधि वडा नम्बर ५ ले जितेको छ ।कमल- ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बरलाई ४ लाई शून्यका विरुद्ध २ गोल गर्दै वडा नम्बरले ५ ले उपाधि उचालेको हो । उपाधिसंगै विजेता वडा न. ५ ले नगद ४० हजारसहित प्रमाण पत्र,मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ले नगद २५ हजारका साथै प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । फाईलन खेलको म्यान अफ दी म्याच वडा नम्बर ५ कै खेलाडी अशोक राई भए ।
त्यस्तै प्रतियोगितामा वडा नम्बर ४ का लक्ष्मण बेघा सर्वाधिक गोलकर्ता , वडा नम्बर ५ का युनिस मगर सर्वोकृष्ट गोलकर्ता र वडा नम्बर ५ का उत्तम कार्की उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत भए । उनीहरूले नगद सहित प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरे ।
विजेता,उपविजेता तथा विद्यागत उत्कृष्ठ सबै खेलाडीहरुलाई पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, आयोजक संस्थाका पदाधिकारीहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कमल गाउँपालिकाको आर्थिक सहयोग तथा कमल खेलकुद विकास समितिको आयोजनामा गत २९ असोजदेखि शुरु भएको प्रतियोगितामा कमलका सात वटै वडाको फूटवल टिमले भाग लिएको आयोजक संस्थाका सदस्य बिक्रम निरौलाले बताए ।