भद्रपुर,२४ बैशाख । झापा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रज्वल राई निर्विरोध निर्वाचित भएका छन्। वैशाख २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएको मध्ये प्रत्यासी खड्कवहादुर लिम्बूले उम्मेदवारी फिर्ता लिएपछि राई निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार शनिबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम थियो। सोही कार्यक्रम अनुसार अध्यक्षका उम्मेदवार लिम्बूसंगै वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सुरज साह कसेरा र महासचिव पदका उम्मेदवार रविशंकर भट्टराई (पवन ) ले पनि नाम फिर्ता लिएपछि सवै पद निविरोध भएको हो।
यससंगै वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ तथा महासचिवमा सुमन्त मैनाली पनि सर्वसम्मत निर्वाचित भएका छन्।अध्यक्षमा सर्वसम्मत निर्वाचित राई अघिल्लो कार्यसमितिमा एसोसिएट तथा बस्तुगत उपाध्यक्ष थिए । मनोनयन पत्र दर्ताकै दिन अन्य पदमा आवश्यक पद संख्या अनुसार उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा राजकुमार राई,एसोसिएट तथा बस्तुगत उपाध्यक्षमा वावुराम पराजुली र महिला उपाध्यक्षमा सीता ढकाल तथा कोषाध्यक्षमा पवन श्रेष्ठ भने निर्विरोध भईसकेका थिए ।
त्यस्तै चार जना महिला सदस्यमा चार जना मात्रै क्रमशः दिलकुमारी राई, अनिता कार्की, रूक्मिणी चौहान र मुना दाहाल तथा ७ जना खुला सदस्यमा पनि सात जनाले मात्रै मनोनयन दर्ता गराएका थिए ।
त्यसरी दर्ता गर्नेहरूमा अम्विका पोखरेल, अरूण कुमार मित्रुका, सिंह वीर लिम्बू (अनिल ), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की शाह कल्वार र कविन राई पनि निर्विरोध भएका छन्।