दमक,१ चैत । यहि चैत ५ गते हुन गइरहेको दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघसहितका संयुक्त गठबन्धनले आफनो उम्मेदवारी घोषणा गरेको छ ।
स्ववियूमा सोविन न्यौपाने नेतृत्वको टिमका उम्मेदवारहरु घोषणासहित संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । आज बुधबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमका बीच टिमका तर्फबाट सभापति पदका उम्मेदवार न्यौपाने, सचिव पदका उम्मेदवार दिपक लिम्बू , कोषाध्यक्ष पदका उम्मेदवार रविन अधिकारीसहित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
न्यौपाने नेतृत्वको सो टिमबाट कार्यसमिति सदस्यहरुमा हेमन्त सिटौला, हिमान्सु जयसवाल, रविना प्रसाइँ,सायन साम्पाङ,सन्दिप खडका, कैलाश राई, सविन गौतम र देवेन्द्र पौडेल उम्मेदवारका रुपमा रहेका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै न्यौपानेले निरन्तर बिद्यार्थीहरुको सुखदुखमा साथ दिन आफूले बिद्यार्थीहरुको नेतृत्व लिने तयारी गरेको बताए । उनले ५ चैत्रमा हुने स्ववियु निर्वाचनमा बिद्यार्थीहरुले काम गर्न सक्ने सक्षम , सवल र सच्चा बिद्यार्थी नेतृत्वको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । क्याम्पसमा चुनाव आउँदा राजनीति गर्नेका लागि बिद्यार्थी भएका उम्मेदवार पनि निर्वाचन आएको बताउदै उनले भने,–‘ बिद्यार्थीको हक अधिकारका लागि नेतृत्व लिन खोज्ने सक्षम उम्मेदवारको पक्षमा विवेकपूर्ण मतदान गर्न अनुरोध गर्दछु ।’
सो अवसरमा नेपाली कांग्रेस निकटको नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सभापति अतित वान्तवाले बिद्यार्थीहरुमाझ परिचित र सधै बिद्यार्थीहरुको सुखदुखको सारथी बनेका सोवित न्यौपाने दमक बहुमुखी क्याम्पसको स्ववियुका लागि निर्विकल्प नेतृत्व भएको बताए । सभापति वान्तवाले सबै किसिमका भ्रम र चरम राजनीतिक गुटबन्दीको प्रभावबाट मुक्त भएर आम बिद्यार्थीहरुको साझा र सक्षम नेतृत्व लिन सक्ने न्यौपाने नेतृत्वको टिमलाई विजयी गराउन बिद्यार्थीहरुलाई आव्हान गरे ।
सो अवसरमा तत्कालिन स्ववियू सचिव एवं नेकपा एकीकृत समाजवादी निकट अखिलका नेता रोशन भण्डारीले विभिन्न किसिमका छात्रवृति वितरण, प्राथमिक उपचार कक्ष सञ्चालन, विज्ञान प्रयोगशाला व्यवस्थित र प्रभावकारी बनाउने लगायतका महत्वपूर्ण योजनाहरुसहितको प्रतिबद्धता साथ आएको न्यौपाने नेतृत्वको टिम निर्विकल्प टिम भएको उल्लेख गरे ।