-बिरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी
विराटनगर ,१७ फागुन। प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्तावमा समर्थन गरेको नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । एमालेको प्रस्तावमा काँग्रेसका सांसद भूमि प्रसाद राजवंशीले समर्थन गरेका थिए । यद्यपि उक्त समर्थन फिर्ताको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्ने खुलेको छैन । प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। उता, नेकपा (माओवादी केन्द्र ) ले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने जनाएको छ ।
बिरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी
प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका छन् । उक्त सूचनाअनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था ) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख छ ।
‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को ६ (३ ) ( क ) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
यसैबीच लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश १ संसद भवन अगाडि दिउँसो ३ बजेदेखि विरोध तथा धर्ना कार्यक्रम गर्ने जनाएको छ । समितिले सम्पूर्ण पहिचानवादीहरुलाई धर्ना कार्यक्रममा सहभागीताको लागि अपिल गर्दै प्रदेश १ को नामाकरण पहिचानसहितको हुनुपर्नेमा जोड दिएका छन् ।