दमक,१६ फागुन । किरात याक्थुङ चुम्लुङ झापाले हालै मनोनित सदस्यहरुलाई मंगलवार पदीय जिम्मेवारीको शपथ ग्रहण गराएको छ ।कमल गाउँपालिका वडा न.४ मिलडाँडास्थित चुम्लुङ कमल गाउँ शाखाको कार्यालयमा आज मंगलवार एक कार्यक्रमको आयोजना गरी एकैसाथ ७ जना सदस्यहरुलाई सपथग्रहण गराईएको हो ।
मनोनित सदस्यहरुलाई चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूले पदीय जिम्मेवारीको शपथ ग्रहण गराएका हुन् । दमक,कमल र शिवसताक्षी स्थानीय समितिले सिफारिस गरिएका सदस्यहरुलाई जिल्ला समितिको निर्णयअनुसार रिक्त सदस्य पदमा मनोनित गरि कियाचुको विधान–२०४६ बमोजिम पदीय जिम्मेवारीको शपथ ग्रहण गराइएको हो ।
यसरी मनोनित भएका जिल्ला सदस्यहरु केन्द्र लिङ्देन (शिवसताक्षी), आशा हाङ्खिम सम्बाहाङ्फे (शिवसताक्षी), मनकुमार थलङ (कमल), दिव्या थेबे नाल्वो (कमल ), बन्दना नेम्बाङ् (दमक) र जिल्ला चुम्लुङ सदस्यहरु इन्द्रबहादुर सोदेम्बा (कमल ), कमला लावती (दमक) रहेका छन् । जिल्ला समितिले मनोनित गरेका दुईजना सदस्यहरुको शपथग्रहण बाँकी रहेको छ ।
कियाचुको विधान अनुसार २७ सदस्यीय जिल्ला समिति हुनुपर्नेमा अहिले २६ सदस्यीय पुगेकोे छ ।मनोनित जिल्ला चुम्लुङ सदस्यहरुलाई माटो र दूवो छुवाई अध्यक्ष फियाकले शपथ ग्रहण गराएका थिए भने झापाका राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिंह सम्बाहाम्फे र जिल्ला चुम्लुङ सल्लाहकार सूर्यप्रसाद योक्पान्देनले खादा ओढाएर बधाई दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिंह सम्बाहाम्फे, जिल्ला चुम्लुङ सल्लाहकार सूर्यप्रसाद योक्पान्देन, कियाचु गौरादह नगर अध्यक्ष राजकुमार माखिम, कमल गाउँ शाखा सल्लाहकार बलनाथ नाल्वो लगायतले मनोनित सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव प्रेमचन्द्र लिम्बू र कमल गाउँ शाखा सचिव शुक्र लावतीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।