दमक,१५ फागुन । नेपाल माझी उत्थान संघ झापाले आफनो महान चाड कोशी अर्थात लदी पूजामा सार्वजनिक विदा दिन माग गरेका छन् ।संघका अध्यक्ष कृष्ण माझीले पत्रकार सम्मेलन गरि माझी समुदायहरुले प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मंगलबार अर्थात १६ फागुनमा लदी पूजा पर्ने भएकाले त्यस दिन सार्वजनिक विदा दिन माग गरेका हुन् । माझीहरुको धर्म, संस्कृति, र कोशी (लदी ) पूजाको महत्व र यसलाई संरक्षण गर्न राजनीतिक दल, नेतृत्व र सरकारको तर्फबाट वेबास्ता गरिएकोमा उनले दुखेसो व्यक्त गरे ।
अध्यक्ष माझीका अनुसार पूजाका अवसरमा झापाका माझीहरुले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखास्थित कनकाई नदीमा सामूहिक रुपमा पूजा मनाउदै आएका छन् ।
माझी समुदायको जनजीवनमा आधारित जलदेवी अर्थात जल देवी–देउताको पुजा गरिन्छ । साथै, मौलिक वेषभुषा, खानपान, बाजागाजा, नृत्य, धामी, झ्याक्री, माछा मार्ने जाल, औजार, हातहतियारहरु प्रर्दशन गरिनुका साथै आदिम कालदेखि सुरुवात गरिएको ढुङ्गगालाई पूजा गरिने कार्यक्रम रहेको उनले बताए ।
त्यस्तैं, पूजा भव्य रुपमा सम्पन्न गर्न आवश्यक विभिन्न उपसमितिहरु गठन गरिएको छ । झापामा झण्डै १४ हजार बढी संख्यामा बसोबास गरिआएका छन् । माझीहरुको विशेष सघन बसोबासको हिसावले शिवसताक्षीमा धेरै संख्यामा माझीहरु बसोबास रहेको संघले जनाएको छ । त्यस्तैं, अर्जुनधारा, दमक र कमलमा समेत माझीहरुको विशेष बसोबास रहेको छ ।