उर्लाबारी, २९ माघ । शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ताहरू किसानको खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । भान्सामा प्रयोग हुने अशुद्ध तेलका कारण अनेक रोग लाग्ने बुझाइले उपभोक्ताहरू तोरी बुकिङ गर्न खेतमा पुग्नेगरेका हुन् ।
मोरङको कानेपोखरी गाउँपालिकाले सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रम अन्तर्गत तोरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । ५० प्रतिशत अनुदानमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत पालिकामा ५६ बिघामा तोरी खेती भएको छ ।
साना किसानका लागि लक्षित तोरी उत्पादन कार्यक्रमबाट मात्र होइन । व्यावसायिक किसानले पनि गहुँखेती घटाएर तोरी लगाउने गरेका छन् । जसलेगर्दा कानेपाखरी गाउँपालिका क्षेत्रमा तोरीको उत्पादन विगत वर्षको तुलनामा दोब्बर भएको पालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले बताए । पौडेलका अनुसार पालिकामा पालिकाभित्र ३५ सय हेक्टर जग्गामा तोरी खेती भएको छ । सामान्यतया प्रतिहेक्टर २७ देखि ३० मन तोरी उत्पादन हुने पौडेलको भनाइ छ ।
कानेपोखरी –३ हरकपुरका तोरी उत्पादक किसान हेमचन्द्र भण्डारीले भने , “साढे ३ बिघामा तोरी लगाएको छु । २५ मन बोटैबाट बिक्री भइसक्यो । अहिले धमाधम तोरी उखेल्नेक्रम चलिरहेको छ ।” खासगरी बजार क्षेत्रबाट आउने ग्राहकले मूल्य भन्दा शुद्धतालाई प्राथमिकता दिँदा यो वर्ष पनि तोरीको मूल्य बढ्ने किसानको भनाइ छ ।
दैनिक सहरी उपभोक्ता खेतमै आउँछन् र आफूलाई आवश्यक परिमाणका लागि पेस्की नगद नै छोडेर जाने गरेको भण्डारीले सुनाए । अर्का किसान जर्मेन टुडुले डेढ बिघामा तोरी लगाएका छन् । आफ्नो जमिन नभएका जर्मेनले अधियाँ तिरेर पनि १० मन जति बिक्री गरिसकेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रम अन्तर्गत तोरी पकेट कार्यक्रम वडा १ को नहरटोलमा सञ्चालन भएको छ । जुनतारा कृषक समूहका २६ किसानले १८ बिघामा लगाएको तोरी उत्पादनका दृष्टि अत्यन्तै राम्रो रहेको कृषि शाखा प्रमुख सागर पौडेलले बताए । त्यस्तै, मेहनती कृषि सहकारी संस्थाका ५५ किसानले ३८ बिघामा तोरी खेती गरेका छन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार किसानले उत्पादन गरेको तोरी ब्रान्डिङ गर्न यो वर्ष गाउँपालिकाले ७ हजार बोरा किसानलाई निःशुल्क वितरण गरिएको छ । किसानको उत्पादन जहाँ पुगे पनि हाम्रो पालिकाको स्टिकर लागेको बोरामा पुगोस भन्ने हाम्रो उद्देश्य रहेको उनको भनाई छ ।
पालिकाका अध्यक्ष राजमति इङ्नामले भनिन् , “कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, सडक र पूर्वाधार निर्माणमा बजेट खर्च गर्दा परनिर्भरता बढाइरहेको छ । त्यसैले कृषि उत्पादन, दूध र पशुपालन कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।” सशर्त अनुदानको १२ लाख रुपियाँले तोरी खेती बिस्तार र उत्पादनमा वृद्धि भएको छ ।