झिलझिले,२० पुस । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको अध्यक्षमा बीरबल जवेगु चुनिएका छन् । सोमवार भएको मतदानबाट जवेगु अध्यक्षमा निर्वाचित भएका हुन् ।
जवेगुको नेतृत्वमा १४ सदस्यीय निर्वाचित समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा सहमति नजुटेपछि मतदान भएको थियो । मतदानमा ८१ प्रतिनिधि मध्ये ७५ जनाले मतदान गरेका थिए ।
मतदानबाट अध्यक्षका उम्मेदवार जवेगुले ४९ मत प्राप्त गरि निकटदम प्रतिद्वन्दि किरण लिङ्देनलाई २३ मतको अन्तरले पराजित गर्दै विजयी भए भने लिङदेनले २६ मत प्राप्त गरेका थिए । यसैगरी सचिव पदमा प्रेम शेर्माले ४५ मत प्राप्त गरेर दुर्गा चेम्जोङलाई १५ मतको अन्तरले पराजित गरेका थिए । चेम्जोङ्ले ३० मत पाए ।
कोषाध्यक्ष पदमा पवित्रा लिम्बूले ४१ मत प्राप्त गरि विजयी भईन् भने बालकुमार तुम्वापोले ३४ मत पाएका थिए ।
मतदान बाहेक सर्वसम्मत निर्वाचित उपाध्यक्षमा धनराज इम्बुङ, सहसचिव निशा लिम्बू चुनिए भने सदस्यहरूमा प्रेमध्वज लिम्बू, विजय लावती, सूर्य योङ्या, लिलामाया लिम्बू, शिशिर तुम्वापो, दुर्गाबहादुर ओख्राबो, कमल कन्दङ्वा, बुद्धराज लक्सम र सन्तोष इजम निर्वाचित भएका छन् ।
निर्वाचित समितिलाई चुम्लुङको बिधान बमोजिम गठित निर्वाचन समितिका संयोजक तथा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले नवनिर्वाचित कियाचु नगर कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई पदीय जिम्मेवारीको शपथ ग्रहण गराएका थिए ।
किरात याक्थुङ चुम्लुङका संघीय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्य रहेको थियो । पुस १६ गते प्रारम्भ भई पुस १८ गते समापन भएको गठित निर्वाचन समितिमा राष्ट्रिय चुम्लुङ सदस्द्वय गुमानसिंह सम्बाहाम्फे र शिवकुमार मेन्याङवो, साविक धरमपुर गाउँ शाखाका पूर्व अध्यक्ष दिल सेरेङ र साविक सतासीधामका कियाचु सदस्य छत्रमाया वनेम लिङदेन सदस्य रहेका थिए ।