प्रदेश–१ का संसदीय दलका नेतामा तीन झापाली

दमक ,१६ पुस । प्रदेश–१ संसदीय दलका नेतामा तीन जना झापालीले नेतृत्व गर्ने अवसर पाएका छन् ।प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार ठूला राजनीतिक दल मध्ये तीन दलको संसदीय दलका नेतामा झापाका तीन जनाले नेतृत्व पाउन सफल भएका छन् ।
चार पार्टी मध्ये प्रदेशसभामा सबैभन्दा ठुलो दल नेकपा एमालेको संसदीय दलको नेतामा हिक्मतकुमार कार्की, नेपाली कांग्रेसको संसदीय दलको नेतामा उद्धव थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न कांग्रेस प्रदेश–१ को संसदीय दलको निर्वाचनबाट २९ मत मध्ये १८ मत प्राप्त गर्दै कांग्रेसका उद्धव थापा संसदीय दलको नेतामा निर्वाचित भए । पार्टीका १ न.प्रदेश सभापति समेत रहेका थापा झापा, अर्जुनधारा नगरपालिका निवासी हुन् ।
त्यस्तै शुक्रवारनै सम्पन्न राप्रपाको संसदीय दलको बैठकबाट झापा,बिर्तामोडकै भक्तिप्रसाद सिटौला सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।यसअघि पुस १० गते सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकबाट झापा, गौरादह नगरपालिका निवासी हिक्मत कार्की संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए ।यता प्रदेश– १ को नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पाँचथरका इन्द्र बहादुर आङ्वो सर्वसम्मत निर्वाचित भएका छन् ।
चार दलका संसदीय दलका चार नेता मध्ये कार्की प्रदेश संरचना अन्तरगत पहिलो आन्तरिक मामिला कानून, गृह तथा सञ्चार मन्त्री हुन् भने आङ्बो बहालवाला अर्थमन्त्री हुन् । थापा र सिटौला भने संसदीय अभ्यासमा नयाँ अनुहार हुन् ।

Leave a Reply

Your email address will not be published.