दमक ,१२ पुस । नेकपा माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन भएका छन् । संसद सचिवालयमा मंगलवार बसेको दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो ।
दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्रीमा अगाडि सारिएको माओवादी नेता गणेश उप्रेतीले जानकारी दिए । उनी पाँचथर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि आङ्बो दलका नेता थिए भने हाल प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।
पुस १५ मा कांग्रेस संसदीय दलको निर्वाचन
नेपाली कांग्रेस प्रदेश एकमा संसदीय दलको नेता चयनको लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिहान ११ः३० मा अन्तिम नामावली सार्वजनिक गरिने छ ।
पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।दलको नेता छान्ने सहमतिको प्रयास असफल भएपछि निर्वाचन गरेर कांग्रेसले संसदीय दलको नेता चयन गर्ने भएको हो। नेपाली काँग्रेसमा प्रदेश १ को संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ ।
दौडमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा अगाडि देखिएका छन् ।