काभ्रे बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो

झापा, २७ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका९४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। बेथानचोक ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर  दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।

शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ। केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार भइरहेको छ।
बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो। बसमा सवार कति यात्रु थिए भन्ने यकिन भएको छैन। नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताईन् ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउन समेत गृहमन्त्रीले निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.