जंगलमा मृत भेटिए विराटनगरका व्यवसायी खत्री

झापा,८ कार्तिक । विराटनगरका होटल व्यवसायी ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्।विराटनगर–३ निवासी खत्री शनिबार अपराह्न जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खत्रीले जर्मनीमा ६ वर्ष र दुबईमा दुई वर्ष बिताएका थिए । वैदेशिक रोजगारीको अनुभवपछि स्वदेश फर्किएका उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर’ नामका रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
स्वदेशमै उद्यम गर्ने उद्देश्यसहित व्यवसायमा सक्रिय खत्रीको असामयिक निधनले स्थानीय व्यवसायी तथा शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ ।
घटनास्थलमा साँचोको रिङ फेला परेको र प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केसलिया खोलामा भेटिएको शवको पहिचान खुल्यो
सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलामा बोराभित्र हालिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजी प्रसाद गुप्ता रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

गुप्ता पछिल्लो ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले आइतबार बिहान केसलिया खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।

एसपी मल्लका अनुसार प्रहरीले बिहान करिब १० बजे घटनाबारे जानकारी पाएको थियो। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.