अधिग्रहणमा परेकालाई रु १ अर्ब ९ करोड बढी मुआव्जा वितरण

औद्योगिक पार्कको शिलान्यास स्तम्भ

दमक,२० जेठ। दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्ति सम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्नका लागि जग्गा अधिग्रहणमा परेकालाई रु १ अर्ब ९ करोड बढी मुआव्जा पाएका छन् । दुई चरणमा गरि कार्यालय स्थापना यता हालसम्म करिव ७६२ विगाहा जमीनका जग्गाधनीहरुलाई उक्त रकम मुआव्जा स्वरुप वितरण गरिएको कार्यालयका प्रमुख काशीराम घिमीरेले जानकारी दिए ।
दमकको वडा न. १० , गौरादहको वडा न. ८ र कमल गाउँपालिकाको वडा न. ७ मा पर्ने रतुवा खोला किनारका करिव २१ सय विगाहा जमनिमा सरकारले देशकै एक नमुना औद्योगिक पार्क निर्माण शुरु गरेको हो । २०७५ देखि शुरु भएको उक्त नेपाल– चीन औद्योगिक पार्क निर्माणका लागि अधिग्रहणमा परेका जग्गाधनीहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत जग्गाको मूल्याङकन गरि विगाहाको रु २ लाखदेखि रु ४५ लाख सम्म मुआव्जा वितरण गरिआएको कार्यालयका प्रमुख घिमीरेले जानकारी दिए । औद्योगिक परियोजनाले प्रभावित भएका त्यहाँका कतिपय जग्गाधनीहरुले भने आफनो जग्गाजमीनको मूल्याङकन उचित नभएको भन्दै गुनासा समेत गरिआएका छन् ।
उक्त पार्कको त्तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन १७ गते शिलान्यास गरेका थिए । चीन सरकारको लगानीमा निर्माण हुन लागेको औद्यागिक पार्कमा मुआव्जा सम्बन्धी जग्गा विवादका कारण परियोजनाले गति पाउन सकेको छैन् । अधिग्रणमा परेका त्यहाँका करिव ३ सय विगाहा जमीनको मुआव्जाको समस्या अझै सुल्झन सकेको छैन् ।
चीन सरकारको ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अन्तर्गत बन्ने औद्योगिक पार्कका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा जग्गा प्राप्तपछि लिमिटेडले पूर्वाधार निर्माणको काम थाल्ने जनाईएको छ । औद्योगिक पार्कमा नीजि र स्थानीयको समेत साझेदारीमा चीनका इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायतका दर्जनौ उद्योग स्थापना हुने छन् ।

Leave a Reply

Your email address will not be published.