
दमक,१२ जेठ । धान रोप्ने बेलामा रासायनिक मल पाउन नसक्दा झापाका किसान मारमा परेका छन् । हरेक खेतीको समयमा रासयनिक मलको अभाव भोग्दै आएका किसानलाई यस वर्षको धान खेतीका लागि पनि मलको अभाव भएको हो ।
धान रोप्दा छर्ने डिएपी मल पाउन नसक्दा किसान चिन्तासँगै मारमा परेका हुन् ।
रसायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्न समेत मल नपाउँदा किसानले बर्षेनी मलको समस्या झेल्नु परेको झापा ,कमल ६ का अगुवा किसान ख्याम आचार्यले बताए । यस वर्ष समेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाई छ ।
कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुटिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामाग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्था मार्फत किसानलाई उपलव्ध गराईने जनाए । तर सहकारी संस्थाले मागको तुलनामा न्यून परिमाणको सो मल वितरण गर्ने कठिन हुने कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक टंक पराजुलीले बताए । उनले धान रोपाईका बेला उच्च माग हुने डिएपी न्युन परिमाणमा आएका कारण किसानको माग थेग्न समेत कठिन भएको जनाए ।