
काँकरभिट्टा,१० जेठ । मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको छ । मंगलवार बिहान ४ बजे सम्पन्न मतगणना अनुसार एमालेका नगरप्रमुखका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५ हजार १६७ मतले पराजित गरेका हुन् प्रतिद्धन्दी बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रमेश दाहालले ३ हजार ८९५ मत पाए । निर्वाचित नगर प्रमुख प्रदेश सांसदबाट राजीनामा दिएर नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
त्यस्तै एमालेबाट उपप्रमुखकी उम्मेद्वार मिना पोखरेल उप्रेतीले २१ हजार ५९० मतसहित निर्वाचित भईन् उनका प्रतिस्पर्धीहरु गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ र राप्रपाकी सविना बजगाईले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।
नगरको १५ वटा वडा मध्ये माओवादी केन्द्रले १४ नम्बर वडा, कांग्रेसले ६, ८ र १५ नम्बर वडा जितेको छ ।। यसैगरी एमालेले ११ वटा वडा जितेको छ । एमालेले १, २, ३, ४, ५,७ , ९ , १०, ११, १२ र १३ नम्बर वडा जितेको हो । मेचीनगरको निर्वाचनमा ६३ हजार २८१ मत खसेको थियो । यसअघि अघिल्लो स्थानीय निर्वाचनमा भने एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका विमल आचार्य नगर प्रमुखमा निर्वाचित भएका थिए ।
यस्तो छ झापाका पालिका र वडामा दलगत अवस्था
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको झापामा मतगणना सकिएर सबै पालिकाको अन्तिम मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । झापाका १५ पालिका मध्ये प्रमुख तथा अध्यक्षमा नेकपा एमालेले ७ वटा र उपप्रमुख तथा उपाध्यक्ष १० वटा जित हासिल गरेको छ । त्यस्तै ६ वटा पालिकाको मुख्य दुई पदमा एमाले विजयी भएको छ ।
त्यसगरी नेपाली काँग्रेस ६ वटा प्रमुख तथा अध्यक्ष र ३ वटा उपप्रमुख तथा उपाध्यक्षमा विजयी बनेको छ । काँग्रेसले झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा० ले झापाका २ वटा प्रमुख तथा अध्यक्ष जितेको छ भने २ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै राप्रपाले जितेको छ ।
त्यस्तै जिल्लाका १३१ वडामा एमालेले ६१ वटा वडा अध्यक्षमा जित हासिल गरेको छ भने काँग्रेसले ५१ वटा वडाध्यक्ष जितेको छ । त्यस्तै राप्रपा र माओवादी केन्द्रले ७–७ वटा वडा अध्यक्ष जितेका छन भने नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्ष कमल गाउँपालिका २ मा जितेको छ । झापामा ४ जना स्वतन्त्र उम्मेद्वारहरुले वडा अध्यक्षमा जित दर्ता गराएका छन ।