पुनः मतगणनामा गौरीगञ्ज १ को अध्यक्षमा राजवंशी निर्वाचित

गौरीगञ्ज,१० जेठ । गौरीगञ्ज गाउँपालिका वडा नं १ को अध्यक्षमा कार्तिकलाल राजवंशी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
पुनः मतगणना गर्दा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राजवंशी ८ मतको अन्तरले विजयी भएका हुन् । उनले ११८८ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पर्शुराम काफ्लेले ११८० मत प्राप्त गरेका छन् ।
उक्त वडामा ३ हजार ८ सय ८ मत खसेको मुचुल्कामा उल्लेख थियो । तर,सम्पन्न मतगणनामा मत संख्या ३ हजार ९ सय ८१ पुगेको भन्दै कांग्रेसका प्रतिनिधिले धाँधली भएको आशंकासहित विरोध जनाएका थिए । विवादका बीच मतदान अधिकृतको कार्यालयले ३ हजार ८ सय ४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो । सार्वजनिक मतपरिणाम अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत संख्या बराबर १ हजार १ सय ८१ भएको जनाइएको थियो । त्यसपछि पुनःमतगणना भएको थियो ।

Leave a Reply

Your email address will not be published.