
दमक, ९ जेठ । झापाको दमक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज सपथग्रहण गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएका ५१ जना जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराइएको हो ।
दमकमा सपथग्रहण अघि जिल्ला निर्वाचन कार्यालयले भद्रपुरमा नगरप्रमुख रामकुमार थापालाई सपथ ग्रहण गराएको थियो । नगर प्रमुखले सपथग्रहण गरेसंगै उहाँबाट नगरका अन्य जनप्रतिनिधिलाई नियमानुसार सपथ ग्रहण गराएका थिए ।
नगर प्रमुख थापाले सबैभन्दा पहिला उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई सपथग्रहण गराएका थिए । नेपालको संविधान र कानुनले तोके बमोजिम निस्वार्थ रुपमा नगरबासीको सेवामा समर्पित हुने भन्दै प्रमुख थापाले उप प्रमुखसहित नगरका १० वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।सपथग्रहण लगत्तै सवै जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका छन् ।