
झापा,१९ बैशाख । कम्तीमा तीन दिन देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज सोमबारदेखि तीनदिनसम्म देशका विभिन्न भागमा बर्षा हुने पूर्वानुमान छ । आज काठमाडौंसहित बागमती प्रदेश, प्रदेश १ र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव संयुक्त प्रभावले कम्तीमा पर्सिसम्म वर्षाको सम्भावना देखिएको मौसमविद् मानन्धरले बताइन् । ‘भोलि र पर्सि पनि वर्षाको सम्भावना छ, मध्यमसम्म’, उनले बताईन् ।
त्यस्तै ,महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।जसमा भनिएको छ,–‘ प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’